02/01/2025
किन बढ्नलाई आनाकानी गर्दैछ सेयर बजार =बिहीबार नेप्से सूचक ४.६३ विन्दुले बढेर २५८६.२३ अंकमा आएको छ । ४ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ८ वटा समूहका सूचक सकारात्मक बनेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।
यद्यपि, समग्रमा हेर्दा अझै पनि सेयर बजार साइडवेज प्रवृत्तिमै छ । २६ सयबाट ओरालो लागेपछि नेप्सेका चाल निकै सुस्त छ । बजार खासै ठूलो अंकले घटबढ भएको छैन । सूचकसँगै कारोबार रकम पनि सुस्ताएको छ । दैनिक खरिदबिक्री रकम सुस्त भएकाले समग्र बजारमा चहलपहल कम भएको हो । सेयर बजारले निश्चित गति लिन सकेको छैन ।
नेप्से अझै घट्छ वा अब करेक्सन पूरा भयो भन्ने यकिन गर्न नसक्दा आम लगानीकर्ता अन्योलमा परेको देखिन्छ । यसैकारण धेरैजसो अहिले ‘वेट एन्ड वाच’ को मुडमा बसेका छन् । यसैकारण दैनिक कारोबार रकम सुस्त भएको हो । औसतमा भने कारोबार रकम न्यून नै रहेको छ । किनभने अहिले पनि ५ अर्बभन्दा तल नै छ दैनिक कारोबार । यसअघि औसतमा पनि १० अर्ब थियो । यद्यपि, बिहीबार अघिल्लो दिनको तुलनमा भने कारोबार रकम बढेको हो । पछिल्ला २ दिनयता भने बजारले अघि बढ्ने प्रयत्न भने गरिरहेको देखिन्छ । नेप्से सूचक क्रमशः बढ्न थाल्यो भने सोही अनुसार कारोबार रकममा पनि तेजी आउन सुरु हुनेछ ।
लामो समयदेखि बजार समग्रमा डाउन ट्रेन्डमा छ । यसैकारण पनि नयाँ तथा पुराना दुवैथरिका लगानीकर्तामा उत्साहको कमी भएको पाइन्छ । यसअघि होल्ड गरेका अधिकांश सेयरमा पनि खासै नाफा नभएको लगानीकर्ताहरुको भनाई छ । किनभने यसअघि बजार ३ हजारको तहसम्म पुगेको थियो । त्यसबेला सेयर खरिद गर्नेहरु पनि सामान्यतयः अहिले घाटामै छन् । यसकारण पनि धेरैमा उत्साहको कमी देखिएको हो ।
बजार लामो समयसम्म अघि बढ्न नसकेपछि धेरैलाई बुल रन सकिएको हो कि भन्नेसम्मका आशंका पनि लाग्न थालेको छ । तर जानकारहरुका अनुसार बजारले करेक्सन र साइडवेजको चरण पूरा गरेपछि पनः गति लिन सम्भावना छ ।
त्यसो त यसबीचमा पनि जंक स्टकहरु भने बढिरहेका छन् । फन्डामेन्टल आधार दह्रो भएका लार्ज क्यापका कम्पनीहरुमात्र चल्न नसकेका हुन् । राम्रा कम्पनीको भाउ नबढेकाले पनि आधारभूत पक्षहरु अध्ययन गरेर लगानी गर्नेहरुको उत्साह बढ्न सकेको छैन ।