25/08/2026
नमस्कार दाइ 🙏
मैले तपाईंलाई यो कुरा भनूँ कि नभनूँ भनेर धेरै दिनदेखि दोधारमा थिएँ। घटना भएको पनि करिब दुई हप्ता पुग्न लाग्यो। तर पछिल्लो समय भइरहेका घटनाहरू देख्दा, सानो भनेर चुप लागेर बस्दा गलत नियत भएका मानिसलाई झन् हौसला मिल्न सक्छ भन्ने लागेर आज तपाईंलाई सबै कुरा भन्न हिम्मत गरेकी हुँ।
म हिक्कोशी गरेर यहाँ बस्न थालेको धेरै भएको थिएन। वरपर खासै चिनजान पनि थिएन। एकजना साथीमार्फत नजिकैको नेपाली हलाल पसल चिनेकी थिएँ। त्यहाँका एकजना अंकललाई फेसबुकमा request पठाएकी थिएँ र म उहाँलाई “दाइ” भनेर सम्मानपूर्वक बोल्थेँ। उहाँको पसलबाट दुईपटक सामान home delivery पनि गराएकी थिएँ।
दोस्रोपटक सामान ल्याउने दिन बिहान ८ बजेतिर आउँछु भन्नुभएको थियो। म बिहान करिब ५ बजे नै उठेकी थिएँ। अचानक perfume पनि चाहिएको याद आयो। बिहान धेरै चाँडो भएकाले तुरुन्त फोन गरिनँ। करिब ६:३० बजेतिर फोन गरेर perfume को कुरा गरेँ। उहाँले यति बजे आउँछु भन्नुभयो र करिब ७:१५–७:३० तिर सामान लिएर आउनुभयो। बाहिर पानी परिरहेको थियो।
पहिलोपटक delivery हुँदा मैले ढोकाबाहिर गएर सामान लिएर पैसा दिएकी थिएँ। त्यसैले दोस्रोपटक पनि सामान्य रूपमा नै सामान लिने सोच थियो। मैले पहिले नै bill पठाइदिनुहोस्, पैसा तयार राख्छु भनेकी थिएँ।
उहाँ आउनुभएपछि ढोकामै यसरी उभिनुभयो कि ढोका राम्रोसँग बन्द गर्न पनि असजिलो भइरहेको थियो। मेरो एउटा हातमा नोट, अर्को हातमा सिक्का र मोबाइल थियो। पैसा दिने क्रममा सिक्का लिँदा उहाँले मेरो हातलाई आवश्यकताभन्दा फरक किसिमले छोएर, मुस्कुराउँदै सीधै आँखामा हेर्नुभयो।
त्यो क्षण मेरो मन एक्कासि डरले काँप्न थाल्यो। मेरो दिमागले “पैसा लिँदा छोइयो होला, सामान्य रूपमा लिऊँ” भनेर आफैँलाई सम्झाउन खोजिरहेको थियो। तर मनले स्पष्ट रूपमा त्यो सामान्य स्पर्श थिएन भन्ने महसुस गरिरहेको थियो।
मैले “ल दाइ, धन्यवाद” भनेर कुरा टुंग्याउन खोजेँ। त्यसपछि उहाँले “भित्र एक्लै हो कि साथी पनि छ?” भनेर सोध्नुभयो। म झन् डराएँ। मनले “साथी छ भन” भनिरहेको थियो, तर म झूट बोल्न सकिनँ। उहाँले “एक्लै हो?” भन्दा म डर र हडबडमा “अँ” भनेछु।
त्यसपछि उहाँले “चिया नपिलाउने?” भन्नुभयो। एकपटक होइन, पटकपटक भन्नुभयो। म awkward भएर अलमलिएँ। मैले “चिनी छैन” भनेँ। फेरि “चिया नपिलाउने?” भन्नुभयो। मैले अलि ठूलो स्वरमा “चिनी छैन के दाइ” भनेपछि “चिनी नहालेको कालो चिया” भन्नुभयो।
म बाहिरबाट अनुहार सामान्य देखाउने प्रयास गर्दै “ल है” भनेर हतारहतार ढोका बन्द गरेर lock गरेँ। त्यसपछि केहीबेर ढोकामा knock पनि गर्नुभएको थियो। म यति डराएकी थिएँ कि पछाडि फर्केर हेर्नसमेत सकिनँ। बिहान ५ बजेदेखि उठेकी भए पनि त्यसपछि फेरि सुत्न सकिनँ।
तर त्यो बेला सबैभन्दा दुःखद कुरा के थियो भने मैले गल्ती उहाँको हो भन्ने बुझ्दाबुझ्दै पनि आफैँलाई दोष दिन थालेँ।
“के म कमजोर देखिएँ?”
“मैले नै केही गलत संकेत दिएँ कि?”
“मैले home delivery गराउनु नै गल्ती थियो कि?”
“म किन एक्लै छु भनेँ?”
यस्ता हजारौँ प्रश्न मेरो मनमा खेल्न थाले।
मैले उहाँलाई social media मा restrict गरेँ। पुलिसलाई भनौँ कि भन्ने सोच पनि धेरैपटक आयो। तर फेरि “आफ्नै देशको मान्छे, विदेशमा कमाउन आएको होला, अब नेपाल पनि फर्किने रहेछ” भन्ने सोचेर चुप लागेँ। साथीबाट उहाँ छिट्टै नेपाल जाँदै हुनुहुन्छ भन्ने सुनेपछि “अब त फर्किहाल्छ, मलाई यहाँ डर हुँदैन” भनेर आफैँलाई सम्झाएँ।
मैले यो घटना चिनेको साथीलाई voice message गरेर सुनाएकी थिएँ। त्यही दिन करिब १०–११ बजेतिर नजिकै छुट्टै बस्नुहुने मेरी भाउजुलाई पनि voice message पठाएकी थिएँ। उहाँले फोन गरेर मसँग कुरा गर्नुभयो।
तर त्यसपछि अर्को घटना सुनेपछि म अझै गम्भीर भएँ।
गत शनिबार त्यही व्यक्ति अर्कै कसैको कोठा खोज्दै जाँदा झुक्किएर मेरी भाउजुको कोठामा पुगेछन्। कसैको नाम लिएर “यो उहाँको कोठा हो?” भनेर सोधेछन्। भाउजुले “होइन” भन्नुभयो। त्यो दिन गर्मी थियो रे। उहाँले आत्तिएको जस्तो गरेर “म भित्र पस्छु” भन्दै भाउजुले स्पष्ट रूपमा “आउनुहोस्” समेत नभनी भित्र पस्नुभएको रहेछ।
भाउजुले सामान्य मानवीय व्यवहार गर्दै sofa मा बस्न भन्नुभयो र पानी दिनुभयो। भुइँमा भाउजुको AirPods राखिएको थियो। तर उहाँ sofa मा नबसी भुइँमै बस्नुभएको रहेछ। केहीबेरपछि हतारहतार निस्कन खोज्नुभयो। भाउजुले “पहिले कोठा कहाँ हो निश्चित गरेर मात्र जानुहोस्” भन्दा पनि “होइन, होइन” भन्दै छिट्टै निस्किनुभएको रहेछ।
त्यसपछि केहीबेरमा भाउजुले हेर्दा उहाँको AirPods भेटिएन। त्यो दिन बाहिरबाट अरू कोही पनि कोठामा आएको थिएन रे। AirPods कसरी हरायो भन्ने निश्चित प्रमाण हामीसँग छैन, त्यसैले म कसैमाथि चोरीको आरोप लगाउन चाहन्नँ। तर यो कुरा सुनेपछि मैले मेरो घटनालाई फेरि गम्भीर रूपमा सोच्न थालेँ।
त्यसपछि बल्ल मलाई “सायद गल्ती मेरो थिएन, मैले महसुस गरेको असहजता बेकारको थिएन” भन्ने विश्वास आयो।
अहिले नेपालमा भइरहेका घटनाहरू देख्दा झन् लाग्छ, यस्ता व्यवहारलाई “सानो कुरा” भनेर छोड्दै गयौँ भने गलत नियत भएका व्यक्तिको हौसला बढ्न सक्छ। आज कसैको हात असहज तरिकाले छोयो, एक्लै छ कि छैन भनेर बुझ्न खोज्यो, जबर्जस्ती घरभित्र पस्ने वातावरण बनायो भने भोलि त्यो व्यवहार कहाँसम्म पुग्छ भन्ने कसैले ग्यारेन्टी गर्न सक्दैन।
त्यही कारणले तपाईंलाई यो कुरा भन्नुपर्छ जस्तो लाग्यो।
एकपटक TikTok मा भिडियो बनाएर सबै कुरा सार्वजनिक गरौँ कि भन्ने पनि सोचेकी थिएँ। तर फेरि हाम्रो समाजको डर लाग्यो। कसैले “किन home delivery गराएकी?”, “आफैँ पसल गएको भए हुन्थ्यो”, “यति सानो कुरामा किन बोलेकी?” जस्ता प्रश्न मलाई नै गर्लान् भन्ने डर भयो।
हाम्रो समाजमा कहिलेकाहीँ पीडा भोग्ने व्यक्तिलाई नै प्रश्न गरिन्छ। छोरी मान्छे हुँदा झन् दोष उसैमाथि खोज्ने प्रवृत्ति छ। यदि मेरो ठाउँमा पुरुष भएको भए “केटा मान्छेसँग पनि यस्तो गर्यो?” भनेर घटनालाई हेर्ने तरिका नै फरक हुन्थ्यो होला।
यही डरले मैले तत्काल सार्वजनिक गरिनँ। मलाई झन् मानसिक रूपमा गाह्रो होला कि भन्ने डर पनि थियो।
यो सानो घटना जस्तो लाग्न सक्छ। तर जसले भोग्छ, उसलाई त्यो क्षण कति ठूलो र डर लाग्दो हुन्छ भन्ने भोग्ने व्यक्तिलाई मात्र थाहा हुँदो रहेछ। मलाई यति कुराले यति असहज र डर लाग्यो भने अझ ठूलो हिंसा, दुर्व्यवहार वा अपराध भोगेका महिलाले कस्तो पीडा सहेर बसेका होलान् भन्ने सोच्दा मन भारी हुन्छ।
म घरमा पनि तुरुन्त भन्न सकिनँ। टाढा छु, परिवार झन् आत्तिनुहुन्छ भनेर धेरै दिनपछि मात्र भनेकी हुँ।
आज मैले आवाज उठाउनुको उद्देश्य कसैलाई बदनाम गर्नु होइन। भोलि अर्को कुनै महिलाले यस्तै अवस्था भोग्दा “म बोल्न सक्छु” भन्ने हिम्मत पाओस् भन्ने हो। अनि कुनै पनि पुरुषले महिलाको डर, एक्लोपन वा परिस्थितिलाई कमजोरी ठानेर यस्तो व्यवहार गर्ने आँट नगरोस् भन्ने हो।
हामी जापानलाई धेरै सुरक्षित देश भन्छौँ। तर देश सुरक्षित हुँदैमा प्रत्येक व्यक्तिको नियत सुरक्षित हुन्छ भन्ने हुँदैन। यहाँ यस्तो व्यवहार गर्न सक्ने व्यक्तिले नेपाल फर्किएपछि कहिल्यै गलत व्यवहार गर्दैन भन्ने ग्यारेन्टी पनि कसैले दिन सक्दैन।
दाइ, म तपाईंलाई एउटा कुरा मनदेखि सोध्न चाहन्छु:
मैले home delivery गराउनु गल्ती थियो?
मैले सामान किन्नु गल्ती थियो?
म एक्लै हुनु मेरो गल्ती थियो?
कि कसैको सीमाको सम्मान नगरी उसलाई डर र असहज महसुस गराउने व्यवहार नै गलत थियो?
यो सबै कुरा सार्वजनिक गर्नु ठीक हुन्छ कि हुँदैन, त्यसबारे तपाईंले राम्रोसँग विचार गरेर मात्र निर्णय गरिदिनुहोला। सार्वजनिक गर्दा मेरो डर अझ बढ्छ कि, मेरो सुरक्षामा असर पर्छ कि भन्ने चिन्ता पनि छ।
यदि यो कुरा कुनै रूपमा सार्वजनिक गर्नुपरेमा कृपया मेरो नाम, फोटो, ठेगाना वा मलाई चिनाउने कुनै पनि विवरण पूर्ण रूपमा गोप्य राखिदिनुहोला। 🙏🥺
म कसैलाई बिना प्रमाण अपराधी घोषित गर्न चाहन्नँ। तर मैले भोगेको कुरा पनि चुपचाप दबाएर राख्न चाहन्नँ।
आज मैले एउटा सानो गलत व्यवहारविरुद्ध उठाएको आवाजले भोलि कुनै अर्को महिलालाई समयमै बोल्ने हिम्मत दिन सकोस्, मेरो चाहना यत्ति हो। 🙏
नोट: यो Nepali Media In Japan लाई प्राप्त भएको एक सन्देश हो। सम्बन्धित व्यक्तिको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै उहाँको नाम, फोटो तथा पहिचान खुल्ने कुनै पनि विवरण सार्वजनिक गरिएको छैन।