22/10/2021
घरबाटो सिफारिस कहाँबाट लिनुपर्छ ?
घरबाटो सिफारिस घरजग्गा जुन ठाउँमा अवस्थित छ, त्यसको सम्बन्धित वडा कार्यालयबाट लिनुपर्ने हुन्छ। कुनै घर किनबेच हुँदै छ भने कारोबार गर्न खोजिएको घरको नक्शा पास, अध्यावधिकको विवरण स्थानीय तहमा रहने हुँदा घरबाटो सिफारिस गर्ने जिम्मेवारी सम्बन्धित वडा कार्यालय कै हुन्छ। घरबाटोको अवस्थाले पनि सम्पत्तिको मूल्याङ्कनमा असर पर्ने कुरा स्थानीय तहको आर्थिक ऐनमा तोकिएको हुँदा मालपोतबाट रजिस्ट्रेशन पास गर्नु अगाडि स्थानीय तहको स्वीकृति (घरबाटो सिफारिस) अनिवार्य चाहिने कुरा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई बताउँछन् ।
घरबाटो सिफारिसका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचाबमोजिम निवेदन लेखी घर-जग्गाको विवरण पेश गर्नुपर्दछ। यस्तो निवेदन सम्बन्धित वडा अध्यक्षका नाममा सम्बोधन गरि लेख्नुपर्छ। विभिन्न नगरपालिकाले घरबाटो सिफारिस निवेदनको ढाँचा (फरम्याट) डाउनलोड/प्रिन्ट गर्न मिल्ने गरी आफ्नो वेवसाइटमा पनि राखेका हुन्छन्।
चाहिने कागजातहरू:
घरबाटो सिफारिसका लागि वडा कार्यालयमा निवेदन पेश गर्दा निम्न कागजातहरू समावेश गर्नुपर्दछ:
जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी - १
खरीदकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपी - १
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी - १
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी- १
मालपोत तिरेको रसिदको प्रतिलिपी- १
घर भए कर तिरेको प्रमाणको प्रतिलिपी -१
नापी नक्सा (ब्लू प्रिन्ट) सक्कल - १
घरबाटो सिफारिसका लागि निवेदन दिँदा बिक्रीकर्ता र खरीद्कर्ता दुबै अनिवार्य उपस्थित हुनुपर्छ र निवेदनमा दुबैले हस्ताक्षर गर्नुपर्छ।