28/08/2026
प्राकृतिक विपत्तिले घर, जग्गा र सम्पत्ति मात्र बगाउँदैन, मानिसको पूरै जीवन बदलिदिन्छ। आज हामीले त्रिशूली बजार, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतीजस्ता ठाउँमा देखेको विनाशले यही कुरा सम्झाएको छ।
हामीमध्ये धेरैले सुकुम्बासीलाई हेर्दा उनीहरू किन सार्वजनिक जग्गा वा नदी किनारमा बसेका होलान् भनेर प्रश्न गर्छौँ। कतिपयले अल्छी होलान्, सरकारले दिने सुविधा खान खोजेका होलान् भनेर पनि टिप्पणी गर्छौँ।
तर एकपटक सोचौँ ‘यदि आज तपाईंको घर, जग्गा र सम्पत्ति केही घण्टामै बाढी वा पहिरोले बगायो’ तपाईं कहाँ जानुहुन्छ?
कागजमा तपाईंको जग्गा होला, तर वास्तविकतामा त्यहाँ पहिरो गएको हुन सक्छ, घर बगेको हुन सक्छ वा तपाईंको खेत नै नदीको बगर बनेको हुन सक्छ। केही समय सरकारको सहयोग पाउनुहोला, तर सधैँ त्यही सहयोगमा बाँच्न सकिँदैन। त्यसपछि तपाईं पनि नयाँ ठाउँ खोज्दै सहर पस्न सक्नुहुन्छ, सार्वजनिक ठाउँमा बस्न बाध्य हुन सक्नुहुन्छ।
र केही वर्षपछि समाजले तपाईंलाई पनि ‘सुकुम्बासी’ भनेर चिनाउन सक्छ।
त्यसैले सुकुम्बासीलाई हेर्दा केवल उनीहरू आज कहाँ बसेका छन् भनेर नहेर्नुहोस्। उनीहरू त्यहाँसम्म कसरी आइपुगे भन्ने कथा पनि बुझ्ने प्रयास गर्नुहोस्।
आजको विपत्तिले हामीलाई एउटा ठूलो कुरा सिकाएको छ, आत्मनिर्भर र आफ्नै घर-जग्गा भएको मानिस पनि केही घण्टामै सबैथोक गुमाएर विस्थापित हुन सक्छ।
सायद यही घटनाले हामीलाई अरूको दुःखमाथि टिप्पणी गर्नुअघि एकपटक सोच्न सिकाओस्।
किनकि परिस्थिति बदलिन समय लाग्दैन।